२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

आयुर्वेद विश्वविद्यालय निर्माण

योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय निर्माण क्षेत्रको अनुगमनमा मुख्यमन्त्री कार्की

सङ्खुवासभा र भोजपुरमा उपलब्ध ४१६ रोपनी जग्गामा विश्वविद्यालयका भौतिक संरचना निर्माण गर्ने तयारी भइरहेको छ।

शुक्रवार , कार्तिक २०, २०८३

नेपालसेज/ विराटनगर।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ मा निर्माण प्रस्ताव गरिएको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको क्षेत्र अनुगमन गरेका छन्। उनले विश्वविद्यालयका लागि उपलब्ध जग्गाको स्थलगत अवलोकन गर्दै आगामी दिनमा सञ्चालन गर्न सकिने कामबारे छलफल गरेका छन्। विश्वविद्यालयलाई यथाशीघ्र सञ्चालनमा ल्याउन प्रदेश सरकारले आफ्नो स्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

सम्पादकीय सारांश

Verified

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वविद्यालय निर्माण क्षेत्रको अनुगमन गरेका छन्।

सङ्खुवासभाको खाँदबारी–९ र भोजपुरको षडानन्द–६ मा गरी ४१६ रोपनी जग्गा उपलब्ध छ।

विश्वविद्यालयका भौतिक संरचना निर्माण यसै वर्ष सुरु गर्ने तयारी छ।

विश्वविद्यालयको बृहत् गुरुयोजना निर्माण भइसकेको छ।

आयुर्वेद, योग, ध्यान, हिमाली चिकित्सा, जडीबुटी तथा वैकल्पिक चिकित्साको अध्ययन र अनुसन्धान गर्ने उद्देश्य छ।

मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार अनुगमनपछि जिल्ला समन्वय समितिको कार्यालयमा विश्वविद्यालयको गुरुयोजनाबारे प्रस्तुति तथा छलफल गरिएको थियो। मुख्यमन्त्री कार्कीले विशिष्ट प्रकृतिको यस विश्वविद्यालयलाई विश्वकै उत्कृष्ट विश्वविद्यालयका रूपमा विकास गर्न सकिने बताएका छन्। विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ र भोजपुरको षडानन्द नगरपालिका–६ मा गरी ४१६ रोपनी जग्गा उपलब्ध छ। उक्त जग्गामा यसै वर्ष भौतिक संरचना निर्माण सुरु गर्ने तयारी गरिएको छ। विश्वविद्यालयको काम अघि बढाउन बृहत् गुरुयोजना निर्माण भइसकेको विश्वविद्यालयका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अर्जुनबहादुर कार्कीले जानकारी दिएका छन्।

विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय स्थापना गर्नुको उद्देश्य नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेद, योग, ध्यान, हिमाली चिकित्सा, जडीबुटी तथा वैकल्पिक चिकित्साको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रवर्द्धन गर्नु हो। विश्वविद्यालयको नाम समाज सुधारक तथा महिला अधिकारकी अग्रणी अभियन्ता योगमाया न्यौपानेको सम्मानमा राखिएको हो।

भोजपुरमा जन्मिएकी योगमाया न्यौपानेले तत्कालीन राणा शासनको समयमा सामाजिक विभेद, अन्याय, कुरीति र लैङ्गिक असमानताविरुद्ध आवाज उठाएकी थिइन्। उनको सामाजिक सुधार अभियान र त्यागलाई राष्ट्रिय रूपमा सम्मान गर्ने उद्देश्य पनि विश्वविद्यालय स्थापनासँग जोडिएको छ।

विश्वविद्यालय स्थापनाको अवधारणा आर्थिक वर्ष २०७०/७१ देखि अघि बढाइएको थियो। आर्थिक वर्ष २०७३/७४ को सरकारको नीति तथा कार्यक्रममा समेत विश्वविद्यालय स्थापनाको विषय समावेश गरिएको थियो। विसं २०७९ साउन २८ गते योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ जारी भएपछि यसको स्थापनाले औपचारिक कानुनी आधार प्राप्त गरेको हो।

विश्वविद्यालयको केन्द्रीय कार्यालय सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा रहेको छ। सरकारले विश्वविद्यालयका पदाधिकारी नियुक्त गरी काम अघि बढाएको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले यस विश्वविद्यालयलाई नेपालको मौलिक ज्ञान, परम्परागत चिकित्सा प्रणाली र आधुनिक अनुसन्धानलाई एकीकृत गर्ने राष्ट्रिय महत्त्वको शैक्षिक संस्थाका रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images